
काठमाडौं । बाल सुधार गृहमा रहेका बालबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयन्दु बाल सुधार गृह बालबन्दीका बीच झडप हुँदा ६ जना घाइते भएका हुन् । झडपपछि बालबन्दीले आगाे लगाएका छन् । सुधार गृह भित्र प्रहरीलाई प्रवेश गर्न नदिन उनीहरुले आगाे लगाएका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार शुक्रबार राति झडप भएकाे हो । सुधार गृहभित्र कुटाकुट हुँदा ६ जना बालबन्दीहरू घाइते भएको छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये तीन जना कर्तव्य ज्यान र तीन जना जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएका बन्दीहरु हुन् ।
झडपपछि सुधार गृहबाट दुई जना भागेका छन् । सो सुधार गृहमा २५० जना बालबन्दी छन् । सुधार गृह भित्र प्रवेश गर्न खोज्ने प्रहरीलाई बालबन्दीले ढुंगामुढा पनि गरेका छन् ।
जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरूका बीच गतवर्ष पनि झडप भएको थियो ।

























