
विराटनगर । झापामा दुर्घटनामा परेर घाइते भएका बालकको उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–९ का १२ वर्षीय आदर्श खनाल रहेका छन् । दूधेबाट शिवगन्जतर्फ जाँदै गरेको प्र १–०१–००१ च ८९५० नम्बरको पिकअप गाडीले साइकलका हिँडिरहेका उनलाई शिवसताक्षी–११ दूधे चोकनजिक गत शुक्रबार साँझ ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगियो । उपचारकै क्रममा आइतबार दिउँसो २ बजेतिर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार पिकअप चालक शिवसताक्षी–११ का २७ वर्षीय सागर भनिने सिटु पौदारलाई पक्राउ गरिसकिएको छ । घटनाको थप अनुसन्धान भइरहेको खड्काले बताए ।

























