
काठमाडौं । सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा विदेशी मन्त्री र जलवायु विज्ञलाई पनि बोलाइने भएको छ ।
कार्यक्रममा विदेशी पाहुनासहित कम्तीमा ३ सय ५० जना सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कार्यालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको तयारी र विदेशी पाहुनाका बारेमा जानकारी दिएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईले कार्यक्रममा विभिन्न देशका विदेशमन्त्री, वनमन्त्री, जलवायु विज्ञ, विशेषज्ञसहितलाई निमन्त्रणा दिइएको बताए। उनका अनुसार १ सय ५० देखि १ सय ७५ जनासम्म विदेशी पाहुना सगरमाथा संवाद कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ । राईले नेपालको क्षमता अनुसार कार्यक्रमको तयारी भइरहेको उल्लेख गरे ।
सरकारले सगरमाथा संवादलाई सबै नेपाली जनताको साझा कार्यक्रमको रूपमा अगाडि बढाउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहलाई पनि सगरमाथा संवादमा जोड्ने तयारी रहेको मुख्यसचिव एकनारायण अर्यालले बताए ।

























