
विराटनगर । मोरङको सुनवर्षीमा प्याराडाइज बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा आइतबार साँझ १ जना बालिकाको मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित भित्री सडक खण्डमा बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेकी अन्दाजी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेकी बालिकालाई साँझ ५ बजेतिर ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी सन्जुलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याउनसाथ साँझ ६ बजेतिर चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार बस चालक मोरङको सुनवर्षी–१ शुक्रबारेका अन्दाजी ३६ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको छ । दुर्घटनालगत्तै फरार बनेका राईलाई प्रहरीले खोजतलास गरेर पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको जोशीले बताए ।

























