
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ स्थित साउनेपानीको एक घरमा आइतबार राति आगलागी भएको छ ।
स्थानीय प्रेमप्रसाद निरौलाको घरमा आइतबार राति ११ बजेतिर आगलागी हुँदा करिब ४ लाख मूल्य बराबरको क्षति भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
निरौलाको ढुंगा माटो र काठले बनेको टिनको छानो भएको २ तले घरको भान्सा कोठाबाट आगलागी सुरु भएको हो ।
आगलागीबाट भान्सा घर, भान्साभित्र रहेका भाडा वर्तन, अन्नपात र लत्ता कपडालगायत जलेर नष्ट भएको छ । आगलागीमा परेर २ वटा बाख्रोको पाठा जल्यो भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।























