
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राहदानी (पासपोर्ट) वितरण प्रक्रियामा व्यापक सुधार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गलत तरिकाबाट हुँदै आएको राहदानीको सेवालाई सुधार गरेर सहज बनाएका हुन् । अहिले जिल्ला प्रशासनबाट सेवाग्राहीले एकै दिनमा सेवा पाउने वातावरण बनेको छ । यसअघि राहदानी प्राप्त गर्ने प्रक्रिया पूरा गर्न २ महिनासम्म कुर्नुपर्ने बाध्यता थियो ।
सर्वसाधारण सेवाग्राहीले धेरै सास्ती भोगिरहेका थिए । राहदानीका लागि पुग्ने सेवाग्राहीलाई प्रशासनले २ महिनापछिको टोकन थमाउने गरेको थियो । टोकन पनि लामो समयसम्म लाइनमा बसेर लिनुपर्ने बाध्यतामा सेवाग्राही थिए । २ महिनापछि पुगेर घण्टौं लाइनमा बसेपछि बल्ल ‘बायोमेट्रिक’ गराउन पाउँथे ।
‘बायोमेट्रिक’ गरेको १५ देखि २५ दिनमा राहदानी छापिएर आएपछि सेवाग्राहीले पाउने गरेका थिए । प्रशासनबाट राहदानीका लागि १ दिनमा १ सय २० वटा टोकन वितरण हुन्थ्यो । तर, ‘बायोमेट्रिक’का लागि २ महिनापछि पुनः पुग्नुपर्ने हुन्थ्यो ।
प्रजिअ यादव पुस २४ गते मोरङ हाजिर भएका हुन् । उनले मोरङमा प्रजिअको जिम्मेवारी सम्हाल्दै गर्दा टोकन प्रणालीले अनेक बेथिति निम्त्याइरहेको थियो । यसअघि चाँडै राहदानी आवश्यक परेका सेवाग्राहीले तत्काल सेवा लिन बिचौलियालाई पैसा बुझाउनुपर्ने बाध्यता रहेको स्रोतले बतायो ।
प्रशासनले सहज रूपमा सेवा दिनुपर्नेमा बिचौलियाको जगजगी देखेपछि प्रजिअ यादवले टोकन प्रणाली नै हटाइदिएका हुन् । टोकन प्रणालीको अन्त्य गर्दै उनले राहदानीको सेवा तत्काल प्राप्त गर्ने वातावरण बनाइदिएका छन् । त्यसअघि कर्मचारीसँग मिलेर मोलाहिजा गर्दै फाइदा उठाइरहेका बिचौलिया प्रजिअ यादवको निर्णयसँगै विस्थापित भएका छन् ।

कर्मचारीहरुका अनुसार प्रशासनमा दैनिक १० जनाजति बिचौलिया हुन्थे । कतिपयले पहुँचका भरमा र केहीले बिचौलियालाई पैसा बुझाएर राहदानीको सेवा लिन्थे । स्रोतका अनुसार १ जना बिचौलियाले २० वटासम्म टोकन लिएर निश्चित रकममा बिक्री गर्ने गरेका थिए । बिचौलियाले सेवाग्राहीलाई दुःख र हैरानी दिनेदेखि चाँडो सेवा उपलब्ध गराउने नाममा पैसा असुल्नेसम्मका हर्कत गर्ने गरेको १ कर्मचारी बताउँछन् ।
‘तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीले बिचौलियामार्फत पैसा बुझाएर राहदानीका लागि ‘बायोमेट्रिक’ गराउने गरेका थिए । बिचौलियाले सेवाग्राहीसँग ‘बार्गेनिङ’ गर्थे,’ ती कर्मचारी भन्छन्, ‘यसअघि टोकनका लागि नै सेवाग्राहीले घण्टौं लाइनमा बस्नुपर्ने हुन्थ्यो । प्रशासनले टोकन दिएपछि २ महिनासम्म पर्खिएर बस्नुपर्ने बाध्यता थियो ।’ उनका अनुसार प्रशासनले उपलब्ध गराएको समयमा कुनै कारण उपस्थित हुन नसक्दा राहदानीको सेवा प्राप्त गर्न अर्को टोकनमार्फत २ महिनापछिको समय लिनुपर्ने बाध्यतामा सेवाग्राही थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अहिले राहदानीको सेवालाई सहज बनाइएको बताउँछन् । ‘यसअघि टोकन प्रणाली लागू गरिएको रहेछ । टोकन प्राप्त गरेका सेवाग्राहीले २ महिनापछि मात्रै ‘बायोमेट्रिक’ गराउन पाउने रहेछन्,’ उनले भने, ‘तत्काल काम नभएपछि सेवाग्राही निराश भएर फर्किनुको विकल्प थिएन । तर, अहिले टोकन प्रणाली हटाएर त्यस्तो झन्झटिलो प्रक्रियाको अन्त्य गरिएको छ ।’
टोकन प्रणालीको अन्त्य गरेपछि सेवाग्राहीले राहत महसुस गरेको र एकै दिनमा राहदानीको सेवा लिने वातावरण बनेको पोखरेलले बताए । प्रक्रिया पूरा गरेर राहदानी विभागमा पठाएपछि छापिएर आउन भने १५ देखि २५ दिनजति लाग्ने उनको भनाइ छ । विभागले ‘प्रिन्ट’ गरेर मोरङ पठाएपछि मात्रै सेवाग्राहीको हातमा राहदानी पर्छ ।
‘सामान्य राहदानीका लागि प्रक्रिया पूरा गर्न नै २ महिनासम्म पर्खनुपर्ने अवस्था आउनु दुःखद् हो । तर, सेवाग्राहीले सास्ती भोगिरहेको त्यो अवस्थाको अन्त्य भइसक्यो । अहिले सहज भएको छ । सेवाग्राहीले कुनै पनि हालतमा दुःख पाउने अवस्था आउन हुँदैन भनेर छिटोछरितो सेवा प्रवाहलाई हामीले प्राथमिकतामा राखेका छौं,’ सहायक प्रजिअ पोखरेलले भने ।
उनका अनुसार प्रशासन कार्यालय अहिले बिचौलियाविहीन छ । ‘प्रशासनलाई बिचौलियाविहीन बनाइसकियो । अहिले राहदानीको प्रक्रिया एकै दिनमा पूरा हुन्छ । आवश्यक कागजातसहित उपस्थित भएका सेवाग्राहीले दोस्रो दिन आउन नपरोस् भन्नेमा हामी केन्द्रित छौं । अब सेवाग्राहीले राहदानीका लागि पटकपटक जिल्ला प्रशासन धाइरहनु पर्दैन,’ उनी भन्छन् ।
सहायक प्रजिअ पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयबाट १ दिनमा १ सय २० जनासम्मको ‘बायोमेट्रिक’ हुन्छ । पछिल्लो समय राहदानीको सेवा इलाका प्रशासन कार्यालय रंगेलीबाट पनि दिन थालिएको छ । त्यहाँबाट दैनिक २० देखि ३० जनाले सेवा लिइरहेको पोखरेलले बताए । उनका अनुसार इलाका प्रशासन कार्यालय उर्लाबारीले पनि सरदर दैनिक ३० जनाजतिलाई राहदानीको सेवा दिइरहेको छ ।


























