
काठमाडौं । चैते दसैंका रूपमा मनाइने रामनवमी पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । चैत ४ गतेको मन्त्रिपरिषद् बैठकले आगामी चैत २४ गते बिदा दिने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय बैठकमा भएको छ ।
मन्त्रिपरिषद् बैठकले अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णयसमेत गरेको गुरुङले बताए ।























