विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ काकुमबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित काका–भतिज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काका बेलबारी–४ का ४३ वर्षीय पर्शुराम दर्जी र भतिज मोरङको रतुवामाई नगरपालिका–८ का ३० वर्षीय सुशील मोते रहेका छन् । मोते काकाकै घरमा बस्दै आएका थिए ।
काकाको घरमा बसेर भतिजले लागुऔषधको व्यापार गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले बुधबार दिउँसो करिब ४ बजेतिर इलाका प्रहरी कार्यालय बेलबारी र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले छापा हानेको हो । पर्शुरामको घरमा छापा हानेर प्रहरीले ब्राउन सुगरजस्तो देखिने वस्तु १७ ग्राम ८ सय ८० मिलिग्राम बरामद गरेको छ ।
ब्राउन सुगर बरामद भएसँगै प्रहरीले पर्शुराम र उनका भति सुशीललाई समेत पक्राउ गरेको छ । सुशीलले प्रयोग गर्ने को २४ प ९३१५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीका हिरासतमा राखिएको छ । यस विषयमा बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।