विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव विजयी भएका छन् ।
यादव ४३ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिको उद्गमस्थल रुपमा परिचित क्याम्पसमा विजयी भएका यादवले १ हजार १ सय १८ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रज्वलजंग विष्टले १ हजार ७५ मत पाए । यादव र विष्टको मतान्तर ४३ रहेको हो ।
अनेरास्ववियुका अनिष बोगटीले २ सय ३२ मत मात्रै प्राप्त गरे । सभापति गुमाएको नेविसंघले सचिव र कोषाध्यक्षमा भने जित हासिल गरेको छ । सचिवमा नेविसंघका सुदीक्षा थापामगर ७ सय ४१ मतसहित विजयी भइन् ।
उनका निकटम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५ सय ८८ मत पाए । कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान विजयी भए । पासवानले ८ सय ९३ मत ल्याउँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजिव यादवले ८ सय २७ मत पाए ।
मंगलबार सम्पन्न निर्वाचनमा २ हजार ६ सय ३१ मत खसेको थियो । महेन्द्र मोरङमा ५ हजार ९ सय ८४ मतदाता थिए ।
विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसको अध्यक्षमा क्रान्तिकारीका प्रितम साह र विराटनगर नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया निर्वाचित भएका छन् ।