विराटनगर । व्यक्तिको हत्या गरेर लामो समयदेखि फरार रहेका १ जना अभियुक्तलाई प्रहरीले संखुवासभाको चैनपुरबाट पक्राउ गरेको छ ।
चैनपुर नगरपालिका–९ (साविकको बानेश्वर गाविस–६ खाम्लिङ)का ५१ वर्षीय चतुरमान तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार व्यक्तिको हत्यासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि २० वर्षदेखि फरार रहेका तामाङलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा गत मंगलबार पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको इन्स्पेक्टर देउप्रसाद लिम्बू नेतृत्वको टोलीले पक्राउ गरेर अदालतमा बुझाएको हो । प्रहरीले बुझाएपछि अदालतले तामाङलाई सजाय भुक्तानका लागि जिल्ला कारागार खाँदबारी चलान गरेको छ ।
तामाङले २०६१ साल चैत २२ गते भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको प्रहरीले जनाएको छ । विकको हत्यापछि तामाङ भागिरहेका थिए । जिल्ला अदालत चैनपुरले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
मुद्दाको फैसला २०६७ साल कात्तिक १७ गते भएको हो । तर, सजाय भुक्तान नगरिकन तामाङ २० वर्षदेखि भागिरहेका थिए ।
संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान चलाएका छन् । फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको फैसला कार्यान्वयनमा प्रहरीले भूमिका खेलिरहेको इन्स्पेक्टर लामिछानेले बताए ।