
विराटनगर । अपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीका अपराध सहयोगी (क्राइम पार्टनर) राजु श्रेष्ठ पक्राउ परेका छन् । झापाको गौरादह घर भइ विराटनगरमा बस्दै आएका ३८ वर्षीय श्रेष्ठलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठ होटल रत्नामा रहेको सम्राट क्यासिनो रेखदेख गर्छन् । आइतबार राति क्यासिनोको विषयमा विवादास्पद छविका गिरीको समूहसँग अर्का विवादास्पद छविका किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो ।
घटनापछि क्यासिनो सञ्चालकको भूमिकामा रहेका ३८ वर्षीय श्रेष्ठसँग प्रहरीले क्यासिनोको सीसी टिभी फुटेज मागेको थियो । तर, उनले प्रहरीलाई फुटेज दिएनन् । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले बुधबार बेलुका उनलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
जोशीका अनुसार गिरी र श्रेष्ठ एउटै मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्तिहरु हुन् । गिरीले २०७१ सालमा काठमाडौंमा व्यक्तिको अपहरण गर्दा श्रेष्ठ सहयोगी थिए ।
अच्युतप्रसाद रेग्मीलाई अपहरण गरी १० लाख फिरौती असुलेको आरोपमा २०७१ साल साउन तेस्रो साता गिरीसहित झापाका मिलन लिम्बू, राजु श्रेष्ठ, काठमाडौंकी शारदा सिलवाल भन्ने कवितादेवी शाक्य पक्राउ परेका थिए । अपहरण मुद्दामा गिरी र श्रेष्ठलाई ९ वर्ष कैदको फैसला भएको थियो । ९ वर्ष कैद भुक्तानपछि गिरी २०७९ चैत ६ गते कारागारबाट छुटेका थिए ।
कारागारबाट छुट्नुअघि चौकीदारको भूमिकामा रहेका गिरीले कारागारभित्रको रेखदेख गर्ने जिम्मा राजु श्रेष्ठलाई दिएका थिए । गिरी छुटेको केही महिनापछि श्रेष्ठ पनि कैद भुक्तान गरेर छुटे । त्यसपछि उनी गिरीको समूहमा सक्रिय छन् ।
‘कारागार भित्रैबाटै विराटनगरमा विभिन्न गतिविधि चलाउँदा गिरीको सहयोगी थिए श्रेष्ठ । चौकीदार हुँदा कारगारका कैदीबन्दीलाई यातना दिएको, कुटपिट गरेको, रकम असुलेको तथा धम्क्याएर व्यापारीसँग रकम असुलेको आरोप गिरीमाथि छ । उनले कारागार भित्रबाटै ‘मिटरब्याज’को धन्दा पनि चलाउने गरेको आरोप छ ।
पछिल्लो समय गिरीले सम्राट क्यासिनो हेर्ने जिम्मेवारी श्रेष्ठलाई दिएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘क्यासिनोमा देखिनेगरी अभिषेक गिरी छैनन् । श्रेष्ठलाई अगाडि सारेर धन्दा चलाइरहेको छ ।’ गिरीकै सक्रियतामा क्यासिनोमा नेपालीले निर्वाध प्रवेश पाउँछन् ।
त्यसमा प्रशासनदेखि स्थानीय सरकारसमेतको मिलेमतो रहेको आरोप लाग्ने गरेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर, निर्वाध रूपमा नेपाली छिरेर ‘जुवा’ खेल्दा पनि नियन्त्रण गर्नुपर्ने निकाय मुकदर्शक भएर बसेका छन् ।
चैत ३ गते आइतबार राति विराटनगरको रत्ना होटलमा रहेको सम्राट क्यासिनोमा गिरीसँगको समूहसँग किरण लामा र रोनाल कँडेलको कुटाकुट भएको थियो । कुटाकुटमा गिरी सामान्य घाइते छन् । कँडेल र लामा पनि घाइते भए ।
घटनाको भोलिपल्ट गिरीका भतिज निकेश गिरीले आफूमाथि हातपात भएको भन्दै कँडेल र लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका थिए । कँडेलको परिवारबाट प्रहरीमा जाहेरी परेको छ ।
गिरीको समूहले मध्यरातमा घरमा जबरजस्ती प्रवेश गरी धम्की दिएको भन्दै उजुरी परेको हो । प्रहरीका अनुसार आइतबार रातिको झगडापछि राति लामा र कँडेल भागेका थिए । रत्नाको घटनापछि मध्यरातमा गिरीको समूह उनीहरुलाई खोज्दै दुवैको घरमा पुगेको थियो । घरमा नभेटेपछि ‘जे पनि हुनसक्ने’ भन्दै धम्की दिएपछि कँडेलको परिवार प्रहरीसम्म पुगेको थियो ।
अहिले प्रहरीले दुवै पक्षलाई खोजिरहेको बताएको छ । तर, अपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ गिरी खुलेआम हिँडडुल गरिरहेका छन् । लामा र कँडेल फरार छन् । लामा र कँडेल पनि अपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन् ।
गिरीलाई नेपाली कांग्रेसका नेतादेखि प्रहरी अधिकारीसम्मले संरक्षण गरिरहेको आरोप लाग्ने गरेको छ । घटना र परिस्थितिले पनि त्यस्तै देखाउँछ । अपराधमा संलग्न हुँदासमेत उनलाई पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासन हच्किएको छ ।
‘दुवै तर्फबाट उजुरी आएको छ । निवेदन दर्ता गरेर मान्छे खोज्दैछौं । प्रहरीले आफ्नो ढंगले अनुसन्धान गरिरहेको छ,’ डीएसपी जोशीले भने ।
अपहरण मुद्दामा कैद भुक्तानपछि कारागारबाट छुटेका गिरीले सामाजिक काममा सक्रिय भएको देखाएर अपराधिक राज चलाइरहेको सुरक्षा विश्लेषण छ । हरेक हिसाबले पनि उनको भूमिका विवादास्पद देखिन्छ ।
उनीसँग झडप गर्ने नेकपा (एमाले) जिल्ला सदस्य लामा र कांग्रेस तरुण दलमा रहेका कँडेल विवादास्पद छवि र अपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन् । एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य लामा ‘मिटरब्याज’ र ‘असुली’को धन्धामा संलग्न रहेको प्रहरी स्रोतले बतायो । उनलाई एमाले नेताहरुको संरक्षण छ ।
लामा जग्गाको कारोबार पनि गर्छन् । रोनाल कँडेल पटकपटक विवादमा आइरहन्छन् । मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि ७ पटक पक्राउ परिसकेका छन् ।

























