
विराटनगर । पाथीभरा डाँडामा गाडिएको मुक्कुमलुङ (ढुंगा) र यग्राङसिं (फलामको ९ तले भर्याङ) हटाउन पाथीभरा क्षेत्र विकास समितिले अल्टिमेटम दिएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङल शुक्रबार (आज) सूचना जारी गर्दै ३ दिनभित्र मुक्कुमलुङ (ढुंगा) र यग्राङसिं (फलामको ९ तले भर्याङ) हटाउन म्याद दिएका छन् ।
उक्त संरचना तोकिएको समय सीमाभित्र नहटाए समितिले हटाइदिने जानकारी दिएको छ ।
चैत ६ गते राति मुक्कुमलुङ (ढुंगा) र यग्राङसिं (फलामको ९ तले भर्याङ) बिना जानकारी राखेको समितिले जनाएको छ । समितिले जारी गरेको सूचनामा समितिको स्वीकृति बिना निर्माण वा स्थापित गरिएका पाटी, पौवा, टहरासहित अन्य संरचना तत्काल हटाउन निर्देशन भनेको छ ।
पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा कार्य समितिको स्वीकृति बिना भएका गतिविधि अमान्य हुने बताउँदै मुख्य प्रवेशद्वार भित्रको क्षेत्रमा मानव निर्मित संरचना निर्माण नगर्ने, उक्त क्षेत्रमा वृक्षरोपण गरी पाथीभराको प्राकृतिक सुन्दरतालाई कायम राख्ने क्षेत्र विकास समितिको योजना रहेको बताएको छ ।
























