
दाङ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा सोमबार बिहान २ बजेतिर आगलागी भएको छ ।
सोमबार बिहानदेखि लागेको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको दाङ प्रहरीले जनाएको छ । ८ विघा जग्गामा रहको प्लाई उद्योगमा भएको आगलागीका कारण उद्योग नजिकै रहेको ३० भन्दा बढी स्थानीयका घरहरू जोखिममा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जोखिममा परेका घरबाट मानिसहरूलाई बाहिर सुरक्षित स्थानमा सारिएको छ भने घरभित्र रहेका सामान जोगाउने प्रयास भइरहेको छ ।
आगलागीले काठ, कच्चा पदार्थ र प्लाई बनाउने मेसिन जलेर नष्ट भएका छन् । उद्योगमा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने र आगलागीबाट धेरै क्षति भए पनि विवरण खुली नसकेको प्रहरीले जनाएको छ ।
घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट आएका दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।























