
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उप्रेती भ्रष्टाचार मुद्दामा फरार रहेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत अनुसन्धानपछि गैरकानूनी रूपमा सम्पत्ती आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको थियो । तर, उनी सजाय वेरुजू भई फरार रहेका थिए ।
आयोगको निर्देशनमा प्रहरी टोलीले उप्रेतीलाई काठमाडौं महानगरपालिका–१६, बनस्थलीबाट आइतबार पक्राउ गरेको जनाएको छ ।
पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशमा उप्रेतीलाई डिल्लिबजार कारागार चलान गरिएको छ ।
चितवन खैरहनी गाउँपालिका–८ जमौली स्थायी घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका ६५ वर्षीय उप्रेतीमाथि गैरकानुनी रूपमा अकूत सम्पत्ती आर्जन गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
अदालतको फैसला अनुसार अब उनले जरिवाना तिर्नुका साथै ६ महिनासम्म जेल बस्नु पर्ने छ ।

























