
विराटनगर । उदयपुर घर भएका २ जना युवालाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगरबाट पक्राउ गरेको छ ।
उदयपुरको चौदण्डीगढी गाउँपालिका–६ का २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडा पक्राउ परेका हुन् । लागुऔषध बोकेर भारतको जोगवनीबाट नेपाल प्रवेश गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
प्र १–०४–००२ प १०२७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये मोटरसाइकल चालक बस्नेतको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने वस्तु १.४८ ग्राम र मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको नाइट्राभेट–१० लेखिको १५ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । बस्नेत र खतिवडाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























