
काठमाडौं । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले काठमाडौंमा प्रदर्शननका क्रममा भएका घटनाहरूको जिम्मेवारी सरकारले लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
एक भिडिओ सन्देशमार्फत उनले भने,‘ आज जे जे भयो, हुन नपर्ने भयो । यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार हुनुपर्छ । मलाई पश्चात्ताप छ ।’
उनले आफूहरूको शान्तिपूर्ण प्रदर्शनलाई प्रशासनले थिचोमिचो गरेको आरोप पनि लगाए । ‘सुरुदेखि नै प्रशासनबाट अत्याचार, चिथोमिचो भयो । त्यहाँ ग्यास प्रहार गरियो । मैले बस्न पनि पाइनँ, बोल्न पनि पाइन । त्यस्तो किसिमको वातावरण सृजना भयो । त्यसले जनमानसमा आक्रोश पनि उत्पन्न भया े। छतमा बसेर ग्यास हानियो । त्यहाँ घरभरि प्रहरी लुकाएर राखिएको रहेछ । यो कुरा थाहा पाएपछि ती घर तोडफोड पनि भयो,’ उनले भने ।
आज काठमाडौंको तीनकुने आपसास भएको राजावादी आन्दोलनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको छ भने केही घर तथा गाडी जलाइएका छन् । यस्तै केही पसलहरू पनि लुटिएका छन् ।























