
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिबानाबापतको रकम तिर्नका लागि विदेशबाट आर्थिक संकलन हुन थालेको छ ।
राजावादीहरुले चलाएको आर्थिक संकलन अभियानमा विदेशबाट पनि रकम जुट्न थालेको हो । तीनकुने क्षेत्रमा शुक्रबार राजावादीले हिंसात्मक प्रदर्शन गर्दैै तोडफोड र आगजानी गरेका थिए ।
महानगरले प्रदर्शनका क्रममा फोहोरमैला, बोट बिरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिबाना तिर्नुपर्ने भन्दै पूर्वराजालाई जरिबानाको पत्र काटेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिबाना तिर्न पत्राचार गरिएको थियो ।
विदेशमा रहेका राजावादीहरुले क्षतिपूर्तिबापतको रकम बुझाउन आर्थिक संकलन अभियान सुरु गरेका हुन् । यसका लागि पोर्चुगलमा रहेका राजसंस्था पुनःस्थापनका पक्षधर पूर्वपर्यटन प्रवर्धक रमेशराज बास्तोलाले सामाजिक सञ्जालमार्फत यो अभियान थालेका छन् । ‘विदेशमा बस्ने राष्ट्रवादीले तिरिदिऔं यो जरिबाना’ भन्दै उनले आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।
यसअघि पोर्चुगलका लागि नेपाल सरकारको पर्यटक प्रवर्धक नियुक्त भएका बास्तोला पूर्वराजाको फागुन ७ को सम्बोधनलाई समर्थन गरेपछि उक्त पदबाट निष्कासित भएका थिए । उनै बास्तोलालो विदेशमा बस्ने राजसंस्था पक्षधरहरुबाटै पूर्वराजा शाहमाथि तोकिएको जरिबाना तिर्न आर्थिक संकलन अभियान सुरु गरेका छन् । उनले आफैं ५० हजार दिएर अभियानको सुरुवात गरे ।
अहिले विदेशमा रहेका राजसंस्थाका समर्थक नेपालीहरुले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग गर्न थालेको बास्तोलाले सामाजिक सञ्जालमार्फत जानकारी गराए । राजसंस्थाका पक्षधर अंगत देवकोटाको बैंक खातामा क्युवार कोडमार्फत पैसा पठाएर सहयोग गर्न अपिल गरिएको छ ।
साथै संकलित रकम काठमाडौं महानगरलाई जनआन्दोलन समितिका सदस्यमार्फत तिरिदिने उल्लेख गरिएको छ । काठमाडौं महानगरले पूर्वराजा शाहको नाममा जरिबानाको रकम तोकेर विभिन्न शीर्षकमा ८ वटा पत्र काटेको थियो ।

























