
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा ३८ औं गणगौर पूजा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।
विराटनगरमा यो पूजा महोत्सव ३७ वर्ष अघिदेखि निरन्तर रूपमा चालिरहेको छ । मनोकामना पूरा हुने विश्वासका साथ मारवाडी महिलाहरु १६ दिनसम्म व्रत बस्ने गर्छन् । १६ दिनसम्म व्रत बसेर पूजाआजा गरिसकेपछि भव्य कार्यक्रमको आयोजना गरेर गणगौर पूजा महोत्सव सम्पन्न गर्ने प्रचलन छ ।
गणगौर पूजा महोत्सव, २०८१ समापनको अवसरमा शनिबार ८ जना महिलालाई सम्मान गरिएको छ । नेपाल मारवाडी गणगौर पूजा समिति विराटनगरले ६ जना मारवाडी र २ जना गैरमारवाडी समुदायका महिलाहरूलाई सम्मान गरेको हो ।
महोत्सवमा मारवाडी समुदायबाट श्वेता अटल, बन्दना अटल, दीक्षा धाडेवा, सीए मिनाक्षी तापडिया, डा. बन्दना जैन र निशा अटल सम्मानित भएका छन् । गैरमारवाडी समुदायबाट योग प्रशिक्षक ज्ञानु न्यौपाने बोगटी र सुधा पौडेललाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ, विशिष्ट अतिथि श्रीहरि सत्संग समिति नेपालका अध्यक्ष भिखमचन्द सरल, नेपाल मारवाडी गणगौर पूजा समिति, २०८१ का अध्यक्ष ललिता जाजु, समितिका निवर्तमान अध्यक्ष उद्योगी नन्दकिशोर राठी, समितिका संस्थापक अध्यक्ष मुलचन्द तापडियालगायतले महिलाहरूलाई खादा माला र सम्मानपत्रले सम्मान गरेका थिए ।
समिति अध्यक्ष एवं महिला उद्यमी ललिता जाजुले समाजको हरेक क्षेत्रमा उत्कृष्ट काम गरिरहेका ८ जना महिलाहरूलाई सम्मान गरिएको जानकारी दिइन् ।























