समयमै जनआक्रोश बुझ नेता

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र १८, सोमबार १७:४९

नेपाली नागरिकमा नेतृत्वप्रति आक्रोश बढ्दै छ । गणतन्त्रको विकल्पमा राजतन्त्रको नारा चर्कँदै छ । काठमाडौंसहित विभिन्न स्थानमा भएका आन्दोलनलाई नियाल्ने हो भने मुलुकको राजनीतिक परिदृश्यमा आम नागरिकको नेतृत्वप्रतिको आक्रोश दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ । यो आक्रोश केवल सरकार विरुद्धको असन्तुष्टि मात्र होइन, राजनीतिक व्यवस्थाप्रतिको गहिरो हताश पनि हो । जनताले मतदानको माध्यमले नेताहरूलाई शक्ति प्रदान गर्छन्, तर नेतृत्वले जनआकांक्षालाई पूरा गर्न नसकेपछि यस्तो आक्रोश उत्पन्न हुनु स्वाभाविक हो । जुन नेपालमा मात्रै होइन विश्वका धेरै मुलुकमा यस्ता घटना देखिएका छन् ।

आक्रोशको प्रमुख कारणहरू भनेकै भ्रष्टाचार, नेताहरूमा देखिएका अहंकार, विकासको अभाव, जनतासँगको दूरी र राजनीतिक दलहरूको आन्तरिक कलह हो । नेपाली नेताहरूमा भ्रष्टाचार, अयोग्यता र अहंकारको प्रवृत्ति बढ्दै गएको छ । जनताले दिएको मतलाई शक्तिको स्रोत मान्नुको सट्टा व्यक्तिगत स्वार्थ सिद्धिउपयोगीको औजार उनीहरूले बनाइरहेका छन् । भ्रष्टाचार र विभिन्न क्षेत्रमा भएका घोटालाहरू खुलेर आए पनि नेताहरू कुनै जबाफदेही नहुनु नै जनताको आक्रोशको ज्वालामा तेल थप्नु हो । 

नेपालमा दशकौंदेखि राजनीतिक अस्थिरता र सरकारहरूको बारम्बार परिवर्तनले दीर्घकालीन विकास योजनाहरू कार्यान्वयन हुन सकेका छैनन् । आधारभूत संरचना, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता क्षेत्रहरूमा ढिलाइ र निष्क्रियताले जनतालाई निराश बनाएको छ । नेताहरू जनतासँग जोडिएको छैनन्, उनीहरूमा अहमताले शिखर छोएको छ । जब सत्ता प्राप्त गर्ने बेला आउँछ अनि मात्र नेताहरू जनसम्पर्कमा आउँछन् । तर, सरकार बनेपछि जनताका समस्यासँग एकदमै टाढा हुँदै जान्छन् । यसले नागरिकमा ‘नेताहरू हाम्रा होइनन्’ भन्ने धारणा बलियो बनेको छ ।

पछिल्लो समय दलहरूभित्रै गुटबन्दी, नेतृत्वको लागि खिचातानी र सिद्धान्तविहीन राजनीतिले देशको प्रगतिमा बाधा पुर्‍याएको प्रस्ट देखिन्छ । नेताहरू देशभन्दा आफ्नो पार्टी र व्यक्तिगत हितमा बढी केन्द्रित भए भन्ने नागरिकले बुझिसकेका छन् । त्यसैले नागरिकमा देखिएको आक्रोश सडकमा छताछुल्ल हुँदैछ । दलहरू र सत्ता समालेका नेता प्रति औंला ठडिन थालेको छ । हो, यस्ता घटनाक्रमको नतिजा केही दिन अघि काठमाडौंमा देखियो । राजावादी सडकमा आउँदा दलहरू पनि सभा गर्दै प्रतिकारमा उत्रनुपर्ने अवस्था आयो । यो दल र नेताहरूलाई चुनौती हो । 

नेपाली नागरिक जबाफदेही र पारदर्शिता चाहन्छन् । जनआकांक्षाको केन्द्रीकरण हुनुपर्छ भन्छन् । युवा र महिलाको सहभागिता खै भन्दै प्रश्न गर्छन् । अनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँग निरन्तर संवाद चाहन्छन् । के यो चाहना गलत हो रु अब नेतृत्वले बुझ्नुपर्ने समय आएको छ ।  अब नेतृत्वले भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्छ । प्रत्येक नेताले आफ्नो कार्यकालको उपलब्धि जनतासामु राख्नुपर्छ । राजनीतिक इच्छाशक्तिलाई राष्ट्र निर्माणमा केन्द्रित गर्नुपर्छ । नीतिगत स्थिरता र दीर्घकालीन योजना बनाउनुपर्छ । अनि मात्रै जनता शान्त हुनेछन् । परम्परागत नेतृत्वलाई नयाँ सोच र ऊर्जासँग परिवर्तन गर्न युवा र महिलालाई राजनीतिमा अग्रपङ्क्तिमा ल्याउनुपर्छ । नेतृत्वले नागरिकहरूसँग निरन्तर संवाद गरी उनीहरूका आवश्यकताहरू बुझ्नुपर्छ । 

नेपाली नागरिकको आक्रोश अस्वीकार्य होइन । यो आक्रोश राजनीतिक परिवर्तनको माग हो । नेतृत्वले यदि जनताको आकांक्षालाई बुझेर काम गर्न सके, नेपालले विकासको नयाँ मार्ग प्रशस्त गर्न सक्छ । यदि नेतृत्वले यसलाई अनदेखा गर्‍यो भने, जनआक्रोश ठुलो रूप लिन सक्छ, जसले गर्दा देशमा अराजकता फैलिने जोखिम बढ्छ । अहिले पनि देखिएका आन्दोलनमा अराजकता मिसिएको छ । धमिलो पानीमा माछा मार्न चाहने धेरै हुन्छन् । सरकार समयमा सचेत बन्नुपर्छ । नेतृत्वमा सुधार आउनुपर्छ । अब समय आएको छ — नेतृत्वले आफ्नो भूमिका बुझी, जनताको विश्वास फेर्ने प्रयास गरौं । जनताको आवाजमा राष्ट्रको आवश्यकता देखिएको हुन्छ । आन्दोलनको झिल्कोले आगोको रूप लिनबाट जोगाऔं । देश र हाल सम्मका उपलब्धिलाई बचाऔं । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.