
धनकुटा । धनकुटामा एउटा कारभित्र ठूलो परिमाणमा लागुऔषध गाँजा भेटिएको छ । त्यसलगत्तै विराटनगर घर भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार–रवि–राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती कारबाट ३ सय किलोग्राम (३ क्वीन्टल) गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा निस्किएको टोलीले शंकास्पद अवस्थाको कारलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
कारबाट कालो प्लाष्टिकले बेरेको १० पोका गाँजा बरामद भएको प्रहरीको भनाइ छ । गाँजा बरामद भएसँगै कारलाई नियन्त्रणमा लिएर प्रहरीले चालक विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई पक्राउ गरेको छ ।
लागुऔषध गाँजा लोड गरिएको कारसहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
प्रहरीका अनुसार साहले उक्त गाँजा कहाँबाट ल्याएका हुन् र कहाँसम्म लैजान खोजेका थिए भन्ने यकिन भइसकेको छैन । अनुसन्धानबाट थप कुरा प्रष्ट हुने प्रहरीको भनाइ छ ।

























