चैती छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार ०६:२५
फाइल फोटो ।

धनुषा । चैती छठको मुख्य दिन आज (बिहीबार) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ । षष्ठी तिथिका दिन अस्ताउँदै सूर्यलाई अर्घ्य दिइन्छ ।

निराहार व्रत बस्ने व्रतालुले साँझ अस्ताउने क्रममा सूर्यलाई अर्घ्य दिने गर्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत बस्ने प्रचलन छ ।

व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन्। जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् ।

व्रतालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यसवर्षको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ।

मधेशको प्राचीन मिथिला क्षेत्रमा वर्षको २ पटक छठ मनाउने प्रचलन छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ। यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ।

दुवै छठमा सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को उपासना एवं पूजाअर्चना गरिन्छ । दुवै छठका व्रतविधि उस्तै छन् । यो व्रतको प्रभावले मनोकांक्षा पूरा हुने जनविश्वास छ। निराहार व्रत बसेर छठ मनाउने गरिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.