लायन्स क्लब डिस्ट्रिक्टको भाइस गभर्नरमा बरालको उम्मेदवारी

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार ११:४९

विराटनगर । लायन्स क्लब डिस्ट्रिक्ट ३२५– सीको भाइस गभर्नरमा अजिताकुमारी बरालले उम्मेदवारी घोषणा गरेकी छन् ।

विराटनगरमा चैत २३ गते हुने निर्वाचनमा दोस्रो भाइस डिस्ट्रिक्ट गभर्नर पदमा उनले उम्मेदवारी घोषणा गरेकी हुन् । भाइस गभर्नरमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो महिला हुन् ।

बराल व्यवसाय तथा समाजसेवाको क्षेत्रमा सक्रिय छिन् । २४ वर्षसम्म कोशी अस्पतालमा नर्सिङ ओटी इन्चार्जको रूपमा काम गरेकी उनी टंकीसिनवारी जेसिजको संस्थापक सदस्य र घरेलु तथा साना उद्योग महासंघ मोरङको आजीवन सदस्य हुन् ।

भाइस गभर्नरमा उम्मेदवारी घोषणा गरेकी उनले महिला सहभागिता र सशक्तिकरणलाई मुख्य एजेण्डा बनाएकी छन् । लायन्सका हरेक तहमा महिला सहभागिता बढाउने उनको योजना छ । सम्पूर्ण डिष्ट्रिक्टलाई भावनात्मक रुपमा एकता, सद्भाव, मातृत्व र असल संगठनको रूपमा स्थापित गर्ने बताउँदै उनले लायन्सका सदस्यले गर्व गर्न लायक कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

लायन्स क्लब नभएका स्थानहरूमा नयाँ क्लब स्थापना र कमजोर क्लबहरूलाई मजबुत बनाउने योजना बनाएकी छन् । वार्षिक क्यालेन्डर बनाइ सबै क्लबहरूमा प्रत्यक्ष भ्रमण गरी समस्या सुन्ने र समाधान गर्ने उनको योजना छ । लायन्सका हरेक गतिविधि गुणस्तरीयता र पारदर्शी बनाउने उनको योजना छ ।

काम गर्ने क्लब र सदस्यलाई कामको प्रशंसा र सहयोग प्रणालीलाई स्थापित गर्ने, पूर्वगभर्नरहरूलाई अभिभावक मानेर सल्लाह सुझावका आधारमा काम गर्ने उनको प्रतिबद्धता छ । उनले भनेकी छन्, ‘लायनवादको विकासको निरन्तरतालाई अझ बढी सुदृढ बनाइ तपाईं हाम्रो साझा सामाजिक सेवाको थलोलाई गरिमामय, मर्यादित तथा गौरवान्वित बनाउने योजना छ ।’

विराटनगरमा हुने लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी सम्मेलनको मिति नजिकिँदै जाँदा सेकेन्ड भाइस गभर्नर पदको लागि चुनावी रस्साकस्सी चुलिएकै छ । चुनावी मैदानमा बराल र अहिलेका क्याबिनेट ट्रेजर रमेश खत्री छन्। उनीहरू सभा–समारोह र विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्ना एजेन्डाहरू प्रस्तुत मात्रै गर्दैनन्, मतदाताको घरदैलो पनि पुगिरहेका छन् । 

सुनसरीको इटहरीस्थित लायन्स क्लबको सभाहलमा बरालले मिट, ग्रिट एन्ड ब्लेस कार्यक्रमको आयोजना गरिन् र सेकेन्ड भाइस गभर्नर पदमा विजयी गराउन आव्हान गरिन् । सामाजिक कार्यमा अगाडि बढिरहेको संस्थाको गरिमालाई उच्च बनाउनका लागि सेकेन्ड भाइस गभर्नरका लागि आफ्नो सशक्त दाबी रहेको उनी बताउँछिन् । भन्छिन्, ‘संस्थामा महिलाको प्रतिनिधित्वका साथै संस्थालाई उत्तरदायी ढंगका साथ सञ्चालन गर्नका लागि मैले मेरो उम्मेदवारी प्रस्तुत गरेकी हुँ । म यो डिस्ट्रिक्टमा उम्मेदवारी दिने पहिलो महिला भएकोले सबै लिडर र अध्यक्ष अनि मतदातासँग सर्वसम्मतका लागि अपिल र अनुरोध गर्छु ।’

आफू निर्वाचित भएमा लायन्सलाई थप उचाइमा पुर्याएर एक ढिक्का बनाउने दाबी बरालले गरेकी छिन । ‘महिलाको आवाज उठाउनका लागि पनि महिलाको नेतृत्व आवश्यकता पर्ने भएकाले यहाँ भित्रका विकृति विसंतिविरुद्धमा मेरो उम्मेदवारी हो,’ उनले थपिन् ।

मतदाता र सबै लिडरको शिर नझुक्ने गरी सबैले गर्व गर्ने गरी काम गरेर यो संस्थालाई एक ढिक्का बनाउने उनको प्रतिबद्धता छ । लायन्स एक स्वतन्त्र सामाजिक संस्था रहेको उल्लेख गरेकी उनले ३२५ सीलाई सेवाका हात अगाडि बढाउन र आवश्यकतामा लायन्स पुग्ने कुरामा विश्वास दिलाइन् । उक्त कार्यक्रममा पूर्वगर्भनरहरू फुलकुमार लालवानी, रेवतबहादुर कार्की, नेपाल जेसिजका पूर्वअध्यक्ष भोलेश्वर दुलालसमेतले महिला पहिलोपटक नेतृत्वमा आउन खोजिएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

यस डिस्ट्रिक्ट लागि गभर्नर बबरजंग थापा र प्रथम फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर लीला चिमोरियाको एकल दाबी छ । ३२५ सी अन्तर्गत १ सय ५४ क्लबका ३ हजार बढी लायन्स सदस्यहरू छन् । यसै डिस्ट्रिक्ट लायन्स इन्टरनेशनल डाइरेक्टरका लागि रेवतबहादुर कार्की र लीला ढुंगेलसमेत चुनावी मैदानमा होमिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.