मोरङको बेलबारीमा कुकुरले टोकेर घाइते भएका पुरुषको मृत्यु

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २१, बिहीबार १९:३४

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोकेर घाइते भएका १ जना पुरुषको मृत्यु भएको छ ।

बेवारिसे कुकुरले टोकेर घाइते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । स्थानीयका अनुसार मगर केही समययता भाउन्ने क्षेत्रमै बस्दै आएका थिए ।

बाटो हिँड्दै गर्दा बिहीबार बिहान ९ बजेतिर उनलाई कुकुरले टोकेको थियो । दायाँ खुट्टाको पिँडुलामा टोकेर मगरलाई गम्भीर घाइते बनाएपछि घटनास्थलबाट कुकुर भागेको बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए ।

कुकुरले टोकेपछि मगर रक्ताम्य भएर सडकमा ढलेका थिए । वडाध्यक्ष याक्खाका अनुसार सडकमा लडिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि नगर अस्पताल बेलबारी लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइयो ।

अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । कुकुरले टोकेर लागेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । परिवारका सदस्य सम्पर्कमा आइसकेको र शुक्रबार पोस्टमार्टम गरेर शव जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.