
काठमाडौं । चैते दसैंको अष्टमी पर्व आज (शनिबार) परेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व मनाउने प्रचलन छ ।
हिन्दु धर्मावलम्बी नेपालीले घर-घरमा नव दुर्गा भगवतीको पूजाआराधना गरेर अष्टमी मनाउँछन् । वर्षमा ४ वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र त्यति प्रचलनमा छैन । केही साधकले भने असार र पुसा शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको पूजाआराधना गर्ने र्छन् ।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैंलाई बडादसैं भनिन्छ । बडादसैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
चैते दसैंमा त्यो परम्परा छैन । हनुमानढोकाको दसैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजाआराधनाका साथ अष्टमीका दिन बलि दिने गरिन्छ । चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ ।
अष्टमीको दिनलाई चैते दसैं तथा नवमीलाई रामनवमीका रूपमा मनाउने गरिन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएको मानेर रामनवमी मनाउने प्रचलन छ ।
बडादसैं जस्तै चैते दसैँको पूजाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा शान्तिका लागि आशीर्वादन लिनु हो । बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैंका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा पूजा गरिन्छ ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गएर पूजाआराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैं घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भइरहेको छ ।























