धर्म, प्रकृति र परम्पराको अद्वितीय संगम हलेसी : जहाँ सुरु भयो १५ दिने रामनवमी मेला

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार ०९:२८

खोटाङ । खोटाङमा रहेको हलेसी मन्दिर पूर्वको पशुपतिनाथको नामबाट प्रसिद्ध छ । यो मन्दिर आस्था, श्रद्धा, सांस्कृतिक विविधतासहित धर्म, प्रकृति र परम्पराको अद्वितीय संगम पनि हो ।

धार्मिक हिसाबले बहुचर्चित हलेसीमा आज (आइतबार)देखि भव्य रूपमा रामनवमी मेला सुरु भएको छ। धार्मिक चेतना, प्रकृतिको मनोरम सौन्दर्य र जनविश्वासको अनुपम संगम हलेसीमा लागेको मेला १५ दिनसम्म चल्ने छ । हलेसी मेलालाई मुलुककै एउटा विशेष धार्मिक उत्सवका रूपमा लिइन्छ ।

पृथ्वीको गर्भबाट उदाएका चट्टानी गुफा, झरना र प्राकृतिक द्वारहरूले आगन्तुकको मन लोभ्याउने हलेसी शिव, विष्णु र किराँत धर्मको त्रिवेणीसमेत हो । धार्मिक हिसाबले निक्कै पवित्र भूमिका रूपमा परिचित हलेसीमा रामनवमीको अवसर पारेर मेला लागेसँगै भक्तजनको भुइँचो लागेको छ ।

हलेसीमा नेपालका साथै भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियासमेतबाट श्रद्धालु भक्तजनहरु आउने गरेको स्थानीयले बताए । दर्शनार्थीहरू प्रायः आफ्नै सवारीसाधन लिएर हलेसी पुग्ने गरेका छन् । जसका कारण पार्किङ व्यवस्थापनमा केही चुनौती देखिएको छ ।

तर, मन्दिर परिसरमा भक्तजनले सहज पूजाआजा गर्न पाउने उद्देश्यले ठूलो संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्दिरका मूल पुजारी गोपाल गिरीका अनुसार यसवर्ष विगतभन्दा भक्तजनको संख्या बढेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको सडकखण्ड कालोपत्र भएसँगै काठमाडौं, तराई र अन्य क्षेत्रबाट हलेसी आउनेका लागि यात्रा सहज बनेको गिरीले बताए । ‘झट्ट हेर्दा टाढा लाग्छ । तर, अब अब हलेसीको यात्रा सहज बनिसकेको छ । पूजासँगै रमाइलो अनुभूति गर्न सकिन्छ,’ उनले भने ।

हलेसीको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ । जसले गर्दा भक्तजनलाई आकर्षित गर्छ । मन्दिरमा रहेका महादेव गुफा, बसाहा गुफा, शिव–पार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार र स्वर्गद्धारजस्ता रहस्यमय स्थलहरू प्राकृतिक र धार्मिक महत्वका छन् ।

बसाहा गुफाको ५० मिटरभित्र पुग्दा आकाशको दृश्य देखिन्छ । यो पृथ्वीमा स्वर्गको झझल्को दिने खालको रहेको मूल पुजारी गिरीले बताए । रामनवमीसहित शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तीज, बोलबमजस्ता अवसरमा हलेसीमा मेला लाग्ने गरेको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार मेलाको सुरक्षा व्यवस्था मिलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मेलालाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन कुनै कसर बाँकी नराखिने उनको भनाइ छ ।

धर्म, प्रकृति र परम्पराको अद्वितीय संगम हलेसीको ठूलो महत्व रहेको स्थानीय अगुवा बताउँछन् । आस्था र आत्मशान्तिको प्रतीक हलेसीमा विभिन्न अवसरमा मेला लाग्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.