
झापा । झापाको कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार अनुसार वडा ६ मा तीन दिनयता कुकुरले टोकेर घाइते हुनेको संख्या १२ पुगेको हो ।
घाइते हुनेमा चार वर्षीया बालिकासहित चार जना महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उनले बताए । कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ ।
केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिएको उनले बताए । पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताए ।























