
विराटनगर । कैलालीमा माइक्रो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । उनका श्रीमान् सिकिस्त घाइते भएको प्रहरीले जनाएको छ ।
जानकी गाउँपालिका–५ को अमौरामा बुधबार सुपप्र ०१००१ ज १५९८ नम्बरको माइक्रो बसले साइकललाई ठक्कर दिएको थियो ।
साइकलको पछाडि बसेकी स्थानीय ४४ वर्षीया मन बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहोराले जानकारी दिए ।
डीएसपी सिंहका अनुसार मृतकका श्रीमान साइकल चालक ५५ वर्षीय मानबहादुर भन्ने मारुप बडुवाल गम्भीर घाइते छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने एउटा खुट्टा भाँचिएको छ ।
दुवैलाई उद्धार गरेर उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । श्रीमतीको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
माइक्रो बस र चालक भजनी नगरपालिका–६ मादेउलीका २८ वर्षीय केदार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























