
विराटनगर । विराटनगरको रानीस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रलाई विद्युतीय टेम्पो (ई–रिक्सा) हस्तान्तरण गरिएको छ ।
कार्यालयलाई आन्तरिक प्रयोजनका लागि अटो सीटी बजाज सो–रुम इटहरीका प्रबन्धक प्रदीपकुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाले बिहीबार एउटा ई–रिक्सा प्रदान गरेका हुन् । उनीहरुले तालिम केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रका समादेशक एवं एसएसपी अविनारायण काफ्लेलाई ई–रिक्सा हस्तान्तरण गरे ।
ई–रिक्सा हस्तान्तरण गर्ने सन्थालियालाई एसएसपी काफ्लेले धन्यवाद दिए । ई–रिक्साले तालिम केन्द्रको कामकारबाहीलाई प्रभावकारी बनाउन मद्धत पुग्ने उनको भनाइ छ ।
सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न दक्ष जनशक्ति उत्पादन गर्ने तालिम केन्द्रलाई थप सहजता मिलोस् भनेर ई–रिक्सा प्रदान गरिएको बताए । कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, तालिम केन्द्रका सहसमादेशक एवं डीएसपी गुरुप्रसाद तिम्सिनालगायतको उपस्थिति थियो ।

























