
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ ।
प्रसाईलाई केहीबेर अघि जिल्ला अदालत लगिएको हो । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर झापाबाट आजै काठमाडौँ ल्याइएको थियो ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका बेला प्रसाईं कमान्डर तोकिएका थिए । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो भने घर, कार्यालय, व्यापारिक भवनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
उक्त घटनापछि प्रसाईं भागेका थिए । बीचमा उनले सामाजिक सञ्जालमा प्रस्तुत हुँदै नेपालमै रहेको आफू नभागेको बताएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । भारतको आसाममा भारतीय प्रहरीको सम्पर्कमा पुगेका उनलाई काँकडभिट्टा ल्याइएपछि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको हो ।

























