
काठमाडौं । देशका केही स्थानमा आज (आइतबार) वर्षाको सम्भावना रहेको छ । विशेष गरेर पहाडी भू–भागमा वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकमा हाल पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसका कारण देशभरको मौसममा आंशिकदेखि साधरणतया बदली भइरहेको छ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । देशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।
वर्षासँगै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ । वर्षाका कारण देशव्यापी रहिरहेको तुँवालो क्रमिक रुपमा कम हुँदै गएको छ भने वायु प्रदूषण पनि घट्दो अवस्थामा छ ।
मेघगर्जन, चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ । जनजीवनमा असर गर्नसक्ने हुँदा त्यसबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

























