
विराटनगर । झापा र इलाममा करेन्ट लागेर शनिबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काई नगरपालिका-१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो ।
घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, इलामको माई नगरपालिका–८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

























