
आज (साेमबार) नयाँ वर्षको पहिलो दिन । नयाँ वर्ष भनेको समयको रूपान्तरण मात्र होइन उमङ्ग र सङ्कल्पको रोमाञ्चक संगम पनि हो । समय बित्दै जान्छ । ऋतु फेरिन्छन् । समयसँगै व्यक्तिमा, समाजमा, मुलुकमा अनि समग्र जगतमै परिवर्तन आइरहेको हुन्छ । चुनौती हुन्छ ।
यी सबैलाई आत्मसात् गर्दै चुनौती सामना गर्ने साहस हुनुपर्छ । नयाँ वर्षले सम्पूर्णमा यस्तो साहस देओस् भन्ने कामना गर्दछौं । अनेक समस्या र चुनौतीका बीच क्षण क्षणमा नवीनता प्राप्त गर्नु नै जीवनको रोचक पक्ष हो ।
वैशाख नयाँ वर्ष हो र रमाइलो क्षण पनि हो । नयाँ वर्षको बिहानीमा प्रकृति रुखमा पालुवा बनेर हाँसेको छ । हाँगाभरिको पालुवाले धरतीलाई शीतलता दिएको छ, रङ्गाएको छ, सजाएको छ ।
यसै मेसोमा हाम्रो देश प्राकृतिक सौन्दर्य र स्रोतहरुले सम्पन्न भए पनि अपेक्षित रुपमा विकास हुन सकेको छैन । अनेक खाले राजनीतिक परिवर्तनहरु भइसक्दा पनि आम मानिसको जीवनस्तर सोचेजस्तो माथि उठ्न सकेको छैन ।
यस्तो अवस्थामा मुलुक हाँक्ने राजनीतिक दलहरुले इमान्दर भएर जनताका पक्षमा काम गर्नुपर्ने अवस्था छ । विगतका कतिपय अनुभवहरुले राजनीतिक खिचातानी र अस्वस्थ प्रतिस्पर्धाका कारण उन्नति मार्गमा अवरोध आएको हो भन्न संकोच मान्नुपर्ने अवस्था छैन ।
यो मुलुकमा आन्दोलन र संघर्ष धेरै भए । यसमा निकैवटा पुस्ताले योगदान गरिसकेको छ । अबको अपेक्षा भनेको फेरि पनि राजनीतिक विषयमै लड्ने, भिड्ने होइन, आर्थिक विकास र समृद्धितिर जानुपर्ने मुख्य प्राथमिकता हुनुपर्छ भन्ने हो ।
देश भनेको माटो मात्र होइन जनता मुख्य हुन् भन्ने बुझेर राजनीतिक दलहरुले आगामी दिनमा भुइँमान्छेका लागि काम गरुन् भन्ने शुभकामना छ । जनताका छोराले राजनीतिक आन्दोलनमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य होस् ।
देशमा रोजगारी सिर्जना होस् । दिनदिनै आँशुसरि भएर विमानस्थलमा परिवारबाट छुट्टिनु पर्ने दिनको अन्त्य गर्नपट्टि ध्यान जाओस् । सम्भावनै सम्भावनाले भरिएको मुलुक भएर पनि आर्थिक हिसाबले पछि पर्नुको कारण सुक्ष्म रुपमा अध्ययन गरेर त्यसअनुसार आगामी दिनका लागि ठोस योजना बनाएर अघि बढे पक्कै पनि अहिलेको निरासाजनक अवस्थाबाट अघि बढ्न सकिन्छ ।
यसका लागि चाहिने कुरा हो– दृढ इच्छाशक्ति, स्वार्थरहित काम गर्ने संकल्प अनि यी सबैका लागि इमान्दार प्रयास । अहिलेसम्म यिनै कुराहरुको अभावका कारण हामीले उन्नतिको मार्गमा गति बढाउन नसकेको भन्ने प्रष्ट बुझ्दाबुझ्दै पनि पाठ सिकेर अघि नबढ्ने हो भने निरासा बढेको बढ्यै जान्छ । अनि यसले ल्याउने विस्फोटको अवस्थाले समाज तहसनहस हुन बेर लाग्दैन ।
बितेको वर्ष खासै प्रगतिको वर्ष रहेन । आर्थिक क्षेत्रमा उत्साहजनक अवस्था देखिएन । यसो हुनुमा विश्वव्यापी घटनाक्रमहरुको प्रभाव पनि अवश्यै परेको छ तर यहीँ गर्न सकिन कतिपय प्रयासहरु पनि हुन नसकेको सत्य हो । खासगरी, राजनीतिक अस्थिरताले नेपालको विकासलाई पछाडि धकेलिरहेको छ । त्यसैले यसमा मुख्य रुपमा राजनीतिक दलहरु र तिनका अगुवाहरुले बढी जिम्मेवारी महसुस गर्नुपर्छ । अरुले त्यसमा सघाउनु पर्छ ।
अतः देश र जनताको उन्नतिका लागि राज्य सञ्चालनका मुख्य जिम्मेवारदेखि तल्लो तह र तप्कासम्मले इमान्दार प्रयास गर्नै पर्छ । यसो गरिए केही समय लाग्ला तर समृद्धि धेरै टाढा हुँदैन । सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौं, समृद्धि सम्भव छ ।
नयाँ वर्षको उपलक्ष्यमा हाम्रा पाठक, सर्जक, शुभचिन्तक, विज्ञापनदाता सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दैछौं ।

























