
काठमाडौं । मुलुकको मौसममा परिवर्तन देखिएको छ । आज (मंगलबार) पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको र मौसममा व्यापक फेरबदल भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण मुलुकका पहाडी तथा हिमाली भू–भागमा वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा दिउँसो आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
कोशी, गण्डकी र कर्णालीका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोशी प्रदेशलगायत पहाडी भू–भागमा राति आंशिकदेखि सामान्य बदली रहनेछ सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले यस्तो मौसमले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्याउनसक्ने उल्लेख गरेको छ ।

























