
जनकपुर । विशेष गरेर तराई मधेशमा हर्षोल्लासपूर्ण तरिकाले मनाइने जुडशीतल पर्व आज (मंगलबार) परेको छ । यद्यपि, मुलुकका विभिन्न स्थानमा धुमधाम साथ यो पर्व मनाइँदै छ ।
प्रत्येक साल नयाँ वर्षको भोलिपल्ट वा वैशाख २ गते यो पर्व मनाउने प्रचलन छ । यो पर्वलाई शुद्धता, शान्ति, प्रकृति प्रेम र सामाजिक सद्भावको प्रतीकका रूपमा लिइन्छ ।
जुडशीतलमा शीतल जल (चिसो पानी)ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गर्ने गरिन्छ । आजको दिन घरका ठूलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरुको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा छ ।
यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता छ । जुडशीतलमा विभिन्न किसिमको तरुवा खाने मुख्य चलन छ । घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा पानी हालिन्छ ।
प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशीतलले दर्शाउने अगुवाहरु बताउँछन् । जुडशीतलका दिन तराई मधेशमा एकअर्कामा हिलो खेल्ने प्रचलन छ । यसले माटोसँगको सम्बन्धलाई थप परिस्कृत गर्ने र शीतलता प्रदान गर्ने आमविश्वास रहेको छ ।
जुडशीतलको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।























