
वीरगन्ज । वीरगन्ज मंगलबार रातिदेखि फेरि तनावग्रस्त बनेको छ । गत शनिबार निकालिएको हिन्दुहरुको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले तीन जना युवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
उनीहरुको बिना शर्त रिहाइको माग गर्दै हिन्दुवादीहरु प्रदर्शनमा उत्रिएपछि तनाव भएको हो । पक्राउ परेकाहरु हिन्दु समयुदायकै युवा छन् । हिन्दुवादी संघ संगठनका अगुवाहरुले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएर प्रदर्शन गरेका थिए ।
त्यसपछि उनीहरु धर्नामा बसेको थियो । प्रहरीले लाठी चार्ज गरेर लखेटेको थियो । त्यसक्रममा दुई जना सञ्चारकर्मी घाइते भएका छन् । पत्रकार अर्जुन गुप्ताको टाउको फुटेको छ भने अर्का पत्रकार अनिल मिश्रको खुट्टामा चोट लागेको छ । दुवैको नारायणी अस्पतालमा उपचार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट लखेटिएका हिन्दुवादीहरुले घण्टाघर, घडिअर्वा चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । गत शनिबार वीरगन्जको छपकैयामा हनुमान जन्मोत्सवको शोभायात्रामा झडपपछि उत्पन्न भएको तनाव शान्त पार्न गत आइतबार सर्वपक्षीय सहमति जुटाएको २४ घण्टा नबित्दै मंगलबार बेलुकी पुनः विरोध र प्रदर्शन सुरु भएपछि स्थिति तनावपूर्ण बनेको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर पक्राउको विरोधमा मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय अगाडि हिन्दुवादीहरुले प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।























