
बुटवल । नारायणी नदीले बगाउँदा एउटै परिवारका २ बालक बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा घटना भएको हो ।
नदीमा पौडी खेल्ने क्रममा मध्यविन्दु–१२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय पौडेल र हरि पौडेलका छोरा १२ वर्षीय पवन पौडेल बेपत्ता भएको वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिए । धनन्जय र हरि दाजुभाइ हुन् ।
‘एउटै परिवारका दाजुभाइका छोरा पौडी खेल्न गएछन् । पौडी खेल्ने क्रममा नारायणी नदीले बगाएर बेपत्ता बनाएछ,’ वडाध्यक्ष कुमालले भने । उनका अनुसार मंगलबार दिउँसो ५ जना पौडी खेल्न गएका रहेछन् । पौडी खेल्न गएकामध्ये २ जनालाई नदीले बगाएको कुमालले बताए ।
बेपत्ता हुनेमध्ये विजय हालै मात्र एसईई परीक्षा दिएर बसेका थिए । घरबाट करिब २ किलोमिटर टाढा मध्यविन्दु नगरपालिका–१२ र १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए ।
उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर स्थानीयले प्रहरीलाई दिएका हुन् । राति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुनः आज (बुधबार) बिहानैबाट खोजी थालिएको छ । दुवै बालकका बाबुहरु वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको प्रहरीले जनाएको छ ।

























