
इनरुवा । सुनसरीको इनरुवामा काटेर फालेको अवस्थामा गाई गोरुको जस्तो देखिने खुट्टा भेटिएपछि डीएसपीको नेतृत्वमा अनुसन्धान समिति बनाइएको छ ।
प्रहरीका अनुसार इनरुवा नगरपालिका–१ स्थित कृषि विकास बैंकनजिक बाटोमा बुधबार बिहान एउटा खुट्टा फेला परेको थियो । यद्यपि, खुट्टा गोरु वा गाई के को हो भनेर खुल्न सकिरहेको छैन ।
अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीको विश्वास छ । स्थानीयले बिहान १० बजेतिर बाटोमा चौपायाको खुट्टा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
कसैले गाई वा गोरु काटेर खुट्टा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार कतै फालेको खुट्टा कुकुरले ल्याएर छाडिदिएको पनि हुनसक्छ ।
यस घटनाको अनुसन्धानका लागि सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले खतिवडा नेतृत्वको अनुसन्धान समितिले काम थालिसकेको जानकारी दिए ।
‘गाई गोरुको जस्तो देखिन शंकास्पद खुट्टा फेला परेको छ । राम्रो र प्रभावकारी अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन डीएसपीको नेतृत्वमा समिति बनाएर काम सुरु गरिसक्यौं,’ उनले भने ।
चौपायाको खुट्टाजस्तो देखिने वस्तु परीक्षणका लागि पठाउने तयारी प्रहरीले गरेको छ । प्राविधिक पक्षबाट समेत विश्लेषण गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।























