
विराटनगर । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज (बिहीबार) बिहानका रातिदेखि नै हल्का एवं मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको समेत सम्भावना छ । देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
हिमाली भेगका केही ठाउँमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसँगै वर्षा एवं हिमपात हुनसक्ने भएकाले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान छ ।
पानी पार्ने नयाँ प्रणालीको प्रभाव आगामी सोमबारसम्म रहने सक्ने पूर्वानुमान गरिएको छ । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
अहिले गहुँ, मसुरोजस्ता बाली काट्ने समय हो । आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने सुझाव मौसमविद्को छ । नेपालमा पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव परिरहेको छ ।
त्यसको प्रभावले मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

























