‘सरकारमा समस्या छैन’

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार ०६:४२

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन भएर बनेको सरकारमा कुनै समस्या नभएको निष्कर्ष निकालिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निष्कर्ष निकालेको हो । गृहमन्त्री रमेश लेखकले सत्तारुढ एमाले र कांग्रेसबीच कुनै समस्या नभएको जानकारी दिए । उनका अनुसार सरकार र २ दलमा समस्या भयो कि भन्ने आइरहे पनि त्यस्तो कुनै समस्या छैन ।

लेखकले २ दिनबीच समझदारीमै सरकार सञ्चालन भइरहेको भन्दै मुलुकको आर्थिक सुचकांक र सेवा प्रवाहमा सुधार भएको दाबी गरे । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समेत समस्या नरहेको उनको भनाइ छ । मन्त्री लेखकले शिक्षकका समस्यालाई सरकारले सम्बोधन गर्ने र समस्याको हल संसदबाट गरिने जानकारी दिँदै आन्दोलनरत शिक्षकलाई आन्दोलन छाडेर काममा फर्किन आग्रह गरे ।

कांग्रेस र एमालेबीचको विवाद सतहमा देखिन थालेको चर्चा हुँदै गर्दा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको हो । बैठकमा नेताहरुले बाहिर आएका विषयहरुलाई साझा संवादबाट समाधान खोज्ने समझदारी गरेका छन् । सत्तारुढ दलभित्रैबाट नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको विषयमा समेत बैठकमा कुरा उठेको थियो ।

सरकारले गरिरहेका प्रगतिका सूचकहरुलाई तथ्यांकमै हेर्ने, अनुमान र आकलनका भरमा बोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विषयमा छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य राष्टिय राजनीतिक आवश्यकताले भएको स्पष्ट पारे । उनले २०८४ को चुनाव नहुँदासम्म अहिलेकै गठबन्धन अघि बढ्ने पनि बताए ।

‘एउटै पार्टी हुँदा त कतिवटा कुराहरुसँग ‘डिल’ गर्नुपर्छ । यो त २ वटा ठूला पार्टीको सरकार हो । सानातिना कुरा बीचमा आउँछन् । छलफलबाट समस्याको समाधान खोज्नुपर्छ । सरकारलाई अप्ठेरो पर्ने गरी कुनै काम गर्न हुँदैन । सरकारमा कुनै समस्या छैन,’ बैठकमा उनले भनेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रका नेताहरुसँग पार्टी उच्च तहले गरेको समझदारीलाई नै आधार बनाएर आम जनतासमक्ष विचार लैजानुपर्ने बताएका छन् । केही नियुक्तिहरुलाई, अनि बढुवाहरुलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले सत्तारुढ नेताहरुसँग असन्तुष्टि पोखे ।

सत्तारुढ कांग्रेसका केही नेताहरुले सरकारको कामकारबाहीको आलोचना गरिरहेका छन् । नेताहरुको अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले बैठकमा चासोसमेत राखेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल र कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सहभागी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.