
विराटनगर । कोशी प्रदेशमा नेपाल प्रहरी श्रीमती संघ र अरिहन्त मल्टी फाइवर्स लिमिटेडबीच सिप एवं रोजगार सम्झौता भएको छ ।
प्रहरी परिवारको आत्मनिर्भरताका लागि परिवार तथा सन्ततिलाई लक्षित गरेर नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सुनसरीको दुहबी नगरपालिका–८ स्थित अरिहन्तसँग बुधबार सम्झौता गरेको हो । सिप र रोजगार सम्झौतापछि तालिमसमेत सुरु गरिएको छ ।
अरिहन्तको समन्वय तथा संघ कोशी प्रदेशको सहकार्यमा प्रहरी कर्मचारीका परिवार तथा सन्ततिलाई आत्मानिर्भर बनाउने उद्देश्यका साथ कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्झौता भएको हो । श्रीमती संघ कोशी अध्यक्ष सुस्मिता केसी अधिकारी र अरिहन्तका कार्यकारी प्रमुख गोविन्दकुमार बजगाईं सिप एवं सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरलगत्तै डीआईजी अधिकारीले तालिमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा संघकी अध्यक्ष अधिकारीले अरिहन्तको सहकार्यमा भएको रोजगार सम्झौता तालिमले कोशी प्रदेशमा प्रहरी परिवारलाई रोजगार सिर्जना गरी आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताइन् ।
उक्त सम्झौता प्रहरी परिवारका लागि कोशेढुंगा सावित हुने उनको भनाइ छ । महिलालाई सुरक्षित रोजगार दिएर ठूलो योगदान पुर्याएको भन्दै अधिकारीले अरिहन्तप्रति विशेष आभार व्यक्त गरिन् ।
कार्यक्रममा सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, अरिहन्त मल्टि फाइवर्स लिमिटेडका पदाधिकारी तथा प्रहरी कर्मचारीहरु उपस्थित थिए ।


























