
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गरेको छानबिन तथा अनुसन्धानबाट विमानस्थल निर्माण गर्दा व्यापक भ्रष्टाचार भएको प्रतिवेदन तयार गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले गरेको छानबिनका क्रममा भ्रष्टाचार गर्नकै लागी नीति समेत संशोधन गरेको ठहर गरेको छ ।
विमानस्थल निर्माणका क्रममा प्रयोग भएका सामग्रीमा पनि कमसल वस्तु प्रयोग भएको निष्कर्ष उपसमितिको छ ।
संयोजक लिङ्देनले विमानस्थल निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको देखिएको हुँदा दोषीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गर्नुपर्ने बताएका छन् ।
उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ ।
विमानस्थल निर्माणका क्रममा लुट मच्चाएको निष्कर्ष निकालेको उपसमिति सदस्य एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले जानकारी दिए ।
उपसमितिले तयार पारेको प्रतिवेदनमा नीतिगत निर्णयको आवरणमा चरणबद्ध रूपमा लुट मच्चाएको उल्लेख गर्दै पोखरा विमानस्थल ठेक्का प्रक्रियाको चरणबाटै अनियमितता र भ्रष्टाचार सुरु भएको उल्लेख गरिएको छ ।
नयाँ कार्यान्वयन सम्झौता गरी पटक पटक गरेर २ अर्ब २२ करोड ४० लाख कर छुट दिएर आर्थिक अनियमितता गरेको, कर छुट दिइएको २ अर्ब २० करोड रुपैयाँसमेत गैर कानुनी रूपमा भुक्तानी भएको तथ्य उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।
२०७९ पुस १७ गते उद्घाटन गरिएको विमानस्थल हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।























