
ताप्लेजुङ । ताप्लेजुङमा रहेको कञ्चनजंघा हिमालको आरोहण सुरु भएको ७० वर्ष पूरा भएको छ । कञ्चनजंघा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर हो ।
कञ्चनजंघामा पहिलो सफल आरोहणको ७० औं वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजंघा हीरक महोत्सव–२०८२’ आयोजना गरिँदै छ । आज (शुक्रबार)देखि सुरु हुने महोत्सवलाई भव्य र सभ्य हिसाबले सम्बन्न गर्न सबै तयारी पूरा भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को जनाएको छ ।
परिषद्को आयोजनामा हुन लागेको महोत्सव आगामी आइतबारसम्म चल्ने छ । ३ दिने महोत्सव अवधिभर कञ्चनजंघा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायतका विविध गतिविधि हुने परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए ।
महोत्सवमा ताप्लेजुङका ६ जना कञ्चनजंघा आरोहीलाई सम्मान गरिने जानकारी उनले दिए । कञ्चनजंघा हीरक महोत्सवको अवसरमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पा सम्मानित हुन लागेका हुन् ।
‘कञ्चनजंघा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको लिम्बूले बताए । महोत्सवले हिमालको संरक्षण र दिगो पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले दक्षिणी मोहोडाबाट पहिलोपटक कञ्चनजंघाको सफल आरोहण गरेका थिए । सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आएको थियो । तर, पहिलो सफल आरोहण १९५५ मा सम्भव भएको हो ।

























