
विराटनगर । सामाजिक अभियन्ता एवं वैज्ञानिक डा. महावीर पुन विराटनगरमा सम्मानित भएका छन् ।
बबरसिंह –देवकुमारी थापा सेवा गुठी विराटनगरले समाज सेवामा सक्रिय भएर लागेका डा. पुनसहित २ जनालाई सम्मान गरेको छ । डा. पुन ५० हजार राशिको देवकुमारी थापा स्मृति सम्मानबाट सम्मानित भएका छन् ।
त्यस्तै, कोसी अस्पतालमा दैनिक २ सय ५० जनालाई निःशुल्क खाना खुवाउने ‘नर सेवा, नारायण सेवा परिवार’ का उपाध्यक्ष देवकीनन्दन अग्रवाललाई २५ हजार राशिको बबरसिंह थापा सम्मानबाट सम्मानित भएका छन् ।
सम्मानित पुन र अग्रवाललाई प्रा. कृष्ण पोखरेल, गुठीका अध्यक्ष कविराज न्यौपानेलगायतले सम्मानपत्र प्रदान गरे ।
सम्मानपछि बोल्दै डा. पुनले समाजलाई सहज रूपमा सञ्चालन गर्न प्रविधिको प्रयोगसँग जोड्न आवश्यक भएको बताए ।
उनले वीरगञ्जकाे कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल’ पुस्तक अहिलेसम्म ४१ जिल्लामा २ लाख प्रति बिक्री गरेको र ३ लाख प्रति बिक्री गर्ने लक्ष्य रहेको सुनाए ।
अर्का सम्मानित अग्रवालले पुरस्कार बापत प्राप्त २५ हजार रुपैयाँमा १६ हजार थप गरी ४१ हजार रुपैयाँ विराटनगर –८ मा जगतप्रसाद अर्यालले सञ्चालन गरेको ज्येष्ठ नागरिक आश्रमलाई प्रदान गरे ।























