काठमाडौं । राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)का महामन्त्री धवलशम्शेर राणालाई हाजिर जमानीमा रिहा गर्ने अन्तिम तयारी गरिँदै छ ।
राणालाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनलाई जिम्मा लिन पत्नी प्रतिमा राणालाई बोलाइएको प्रहरी अधिकारीले जनाएका छन् ।
राप्रपाका नेता ऋषिराज देवकोटाले प्रतिमालाई प्रहरीबाट फोन आएको बताए । राणा चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनपछि पक्राउ परेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले राणासहितका नेतालाई पक्राउ गरेको थियो ।
राणा क्यान्सरका बिरामी हुन्। भारतमा नियमित फलोअप तथा उपचार गराउँदै आएका उनी पछिल्लो समय स्वास्थ्य जटिलता झेलिरहेका छन् । यही कारण देखाउँदै प्रहरीले मानवीय पक्ष र स्वास्थ्य अवस्थाको आधारमा रिहा गर्न पहल थालेको हो ।
प्रहरीले राणाको बयान लिइसकिएको र मुद्दालाई अदालती प्रक्रियामा लैजाने तयारी भइरहेको जनाएको छ । राणालाई शुक्रबार नै रिहा गर्ने तयारी गरिए पनि कागजी प्रक्रिया ढिलो हुँदा सम्भव भएन ।