स्थानीय तहका कर्मचारी आइतबारदेखि आन्दोलनमा  

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ६, शनिबार १८:४६

काठमाडौं । स्थानीय तहका कर्मचारीहरूले आइतबारदेखि आन्दोलन गर्ने भएका छन् ।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका महासचिव दीपक सिंह धामीले शनिबार जारी गरेको विज्ञप्तिमा आइतबारदेखि आन्दोलनको घोषणा गरेको जनाएको छ ।

महासचिव धामीले जारी गरेको विज्ञप्तिमा आइतबार ७ सय ५३ वटै पालिकाका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई ध्यानाकर्षण गराउने उल्लेख छ ।

यस्तै, सोमबार काठमाडौंमा भेला भएर दबाबमूलक कार्यक्रम गर्ने र ७ सय ५३ वटै स्थानीय तहमा कालो पट्टी बाँधेर काम गर्ने ।

माग पूरा नभए शुक्रबार काठमाडौं केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७ सय ५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरू गर्ने विज्ञप्तिमा भनिएको छ ।

सञ्जालले स्थानी तह कर्मचारी संघर्ष समितिसँग सरकारले गरेका सम्झौतालाई लत्त्याउँदै संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाएको प्रति आपत्ति जनाएको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका कर्मचारीका मागका विषयमा संशोधन प्रस्ताव दर्ता भएका दफाहरूमा आफूहरूसँग छलफल नगरेको र उपसमितिले पनि स्थानीय तहका कर्मचारीका विषयलाई बेवास्ता गर्दै प्रतिवेदन बुझाएको भन्दै सञ्जालले ध्यानाकर्षण भएको जनाएको छ ।

हाल शिक्षक र आवासीय चिकित्सकहरू आन्दोलनमा रहेका छन् ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.