
काठमाडौं । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन जारी राखेको छ ।
यसअघि चैत १५ गते राजावादीको प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गरेर रिहाइ नगरेको विरोधमा राप्रपाले प्रदर्शन गरिरहेको हो । माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा दिउँसो १२ बजेबाट प्रदर्शन जारी छ ।
प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । प्रदर्शनका क्रममा गृहमन्त्री राजीनामा दे, सरकार मुर्दावाद, हाम्रा नेता रिहाइ गर जस्ता नारा लगाइएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय भएको जनाए । लिङ्देनका अनुसार भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भनिए पनि जनतालाई सीमा तोक्नेविरुद्धमा राप्रपाले प्रदर्शन गरेको हो ।
सरकारी निरंकुशताविरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गरिएको उनको भनाइ छ । पार्टीका नेताहरुलाई पक्राउ गरेर नछाडिएका कारण निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरू सामूहिक रूपमा थुनामा जान तयार भएको सन्देश दिन खोजेको लिङ्देनले बताए ।
राप्रपाको प्रदर्शनका कारण माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला ‘डाईभर्ट’ गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारीसाधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदीप र कृष्ण पाउरोटीलगायतका स्थानबाट ‘डाईभर्ट’ गरिएको हो ।
























