
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता र सांसदलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए । प्रहरीले नियन्त्रणमा लिँदा दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरको प्रदर्शनतर्फ जान लागेका थिए ।
राप्रपाले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएको थियो । तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायतको माग राखेर राप्रपाले काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।
राप्रपा अध्यक्ष लिङ्देनले आफूहरु सबै जना थुनिन तयार रहेको प्रतिक्रिया दिएका छन् । ‘निरंकुश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं,’ उनले भने ।
प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए । राप्रपाले आज प्रदर्शनका क्रममा बानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो ।
























