
विराटनगर । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता पक्राउ परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बोलाएको छ ।
अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादक समितिको आकस्मिक बैठक बोलाइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले पर्चासहित सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।
उनीहरूले आफ्ना माग लेखिएका पर्चासहित सिंहदबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पर्चा खोसेर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । अन्य नेता–कार्यकर्ताहरुले भने अध्यक्ष लिङ्देनलगायतको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए ।
वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेपछि राप्रपा नेताहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाएका छन् ।
राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । निषेधित क्षेत्रनजिकै भेला भएर कार्यकर्ताले प्रदर्शन गर्दैगर्दा प्रहरीले नेताहरुलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको थियो ।
यसैबीच, राप्रपाको आह्वानमा काठमाडौंमा गरिएको प्रदर्शन सम्पन्न भएको छ । पार्टी प्रवक्ता श्रेष्ठले तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने, पक्राउ परेका नेताहरुको रिहाइ गर्नुपर्ने, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सकिएको बताए ।
राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरानजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।
यसैबीच, प्रदर्शनलाई लक्षित गरेर सिंहदरबार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन् । त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ ।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ । दंगा नियन्त्रण टोलीसहित पानीको फोहोरा हान्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
























