विद्युत तारको लापर्बाही : जनसुरक्षाको उपेक्षा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ८, सोमबार १७:१९

ताप्लेजुङको पाथीभरा तीर्थयात्रामा जाँदै गरेको बोलेरो जिपले विद्युत प्रवाह भएको तारमा छुँदा आगलागी भएर ४ जनाको असामयिक निधन भयो । २ जना घाइते भए । सोमबार बिहान भएको यो दुःखद् घटनाले विद्युत व्यवस्थापनमा भएको लापर्बाही उजागर गरेको छ ।

यो घटना विद्युत प्राधिकरणको उदासीनताको परिणाम हो । स्थानीयको भनाइ अनुसार यो स्थानमा केही दिनदेखिनै तार भुइँ नजिकसम्म झरेको थियो । जोखिम देखिएकै थियो । तर, समयमा विद्युत प्राधिकरणले चासो राखेन । व्यवस्थापन गरेन । जसको परिणाम सोमबार देखियो ।

यो विषयमा गम्भीर अनुसन्धान आवश्यक छ । कमजोरी गर्नेलाई कारबाही गरेर आगामी दिनमा यस्ता दुःखद् घटना हुन नदिन सचेत गराउनुपर्छ । सडकमा लत्रिएका विद्युतका तार, टेलिफोन लाइन र अन्य संरचनाहरूको अनियन्त्रित व्यवस्थापनले निरन्तर जोखिम बढाइरहेको छ ।

ताप्लेजुङको घटना एउटा उदाहरण मात्रै हो । देशभर यो समस्या छ । नेपालका धेरै सहर र गाउँमा विद्युत तारहरू अनियन्त्रित रूपमा फैलिएका छन् । केही ठाउँमा त तारहरू नजिकैबाट छुन सकिने अवस्थामा हुन्छन् । तर, प्राधिकरणले समयमै मर्मतको प्रयास गर्दैन ।

विद्युतीकरण नभएका तारहरू पनि जताततै राखेको पाइन्छ । यसमा अल्झिएर भएका दुर्घटना पनि धेरै छन् । यस्तो गतिविधिले आगलागीको जोखिम पनि बढाएको छ ।

समयमा मर्मत नहुँदा छिटो–छिटो तार टुट्ने, ‘शार्ट सर्किट’ हुने र बिजुलीको झट्का लाग्ने घटनाहरू नेपालमा बढेका छन् । ताप्लेजुङको जिप दुर्घटनाजस्तै घटनाहरूमा मानिसको मृत्यु हुने गरेको छ । धेरै ठाउँमा तारहरू झुण्डिएर सडकसम्म आइपुग्दा पनि धेरै दिन त्यतिकै छाड्ने गरिएको छ । यो सबैले देखिरहेको कुरा हो ।

जसले गाडी चलाउँदा दुर्घटनाको जोखिम बढाउँछ । अझै प्राकृतिक प्रकोपको समयमा अतिरिक्त जोखिम पनि यसले निम्त्याउँछ । भूकम्प, आँधीबेरी वा बाढीले तार टुट्ने र आगलागी हुने सम्भावना बढ्छ । यो समयमा स्थानीय नागरिक त सचेत हुनुपर्छ नै । सम्बन्धित निकाय अझै चनाखो रहनुपर्छ ।

अव्यवस्थित तारले सहरको सौन्दर्यता पनि घटाएको छ । जसले पर्यटकको आकर्षण कम हुन्छ । बजार क्षेत्रमा धेरै तारले गर्दा नयाँ भवन निर्माण, सडक विस्तार र अन्य विकास कार्यमा बाधा पुग्छ । उच्च भोल्टेज भएको तारमा झुन्डिएर धेरै चरा मर्छन् । यसले वातावरणमा पनि असर पार्छ ।

पुराना तार, इन्सुलेटर र केबलहरूले वातावरणमा उच्च असर पारेका छन् । यति मात्रै होइन, अव्यवस्थित तारले बिजुलीको ह्रास बढाउँछ । जसले गर्दा लोडसेडिङ बढ्न सक्छ । यी सबै कारणले गर्दा तार मर्मत र व्यवस्थापनमा समयमै चासो राख्नुपर्छ ।

विद्युत प्राधिकरण, स्थानीय सरकार र सम्बन्धित निकायहरू यसका लागि प्रत्यक्ष रूपमा जिम्मेवार छन् । तारहरू सुरक्षित ढंगले राख्न, नियमित रूपमा निरीक्षण गर्न र जनतालाई विद्युत सुरक्षाको जानकारी दिनु उनीहरूको कर्तव्य हो । तर, अहिलेसम्म पनि सडकमा लड्किएका तारहरू व्यवस्थित गर्ने, भूमिगत लाइन बिछ्याउने वा सुरक्षा उपाय बढाउने काम सुविधा सम्पन्न सहरमा पनि हुन सकेको छैन । यसमा स्थानीय सरकारले बढी चासो राख्नुपर्छ । काम गर्नुपर्छ ।

ताप्लेजुङको घटना केवल १ दुर्घटना होइन, यो सरकार र सम्बन्धित निकायको उदासीनताको प्रतिबिम्ब हो । जनसुरक्षाको मुद्दालाई गम्भीरतापूर्वक लिँदै विद्युत व्यवस्थापनमा सुधार गर्न निजी र सार्वजनिक क्षेत्रले समन्वय गर्नुपर्छ । यस्ता घटनाहरू दोहोरिनबाट रोक्न कडा नीतिगत र व्यावहारिक कदम चाहिन्छ । यसमा सम्बन्धित निकायको चासो पुगोस् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.