
काठमाडौं । सर्वोच्च अदालतले विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सञ्चालक रहेको दुवै अस्पतालका खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ ।
प्रसाईं गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमाण्डर थिए । हिंसात्मक आन्दोलनपछि उनी फरार बनेका थिए । फरार भएपछि उनको व्यक्तिगत र अस्पतालको खाता रोक्का गरिएको थियो ।
सर्वोच्च अदालतले रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको हो । खाता रोक्का भएपछि बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रा.लिको तर्फबाट सर्वोच्चमा अलगअलग रिट दायर भएको थियो ।
अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै खाता फुकुवा गर्न सोमबार अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिष्ट्रार अच्यूत कुइँकेलका अनुसार कार्कीका तर्फबाट नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै २ वटा रिट दायर भएको थियो ।
सर्वोच्चले बैंक खाता फुकुवाका लागि अन्तरिम आदेश दिएर कारण देखाउ आदेशसमेत जारी गरेको छ । हिंसात्मक प्रदर्शनमा १ पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।
२० जना घाइते भएका थिए । प्रदर्शन अराजक हुँदै जाँदा तोडफोड र आगजनीका घटना भए । प्रदर्शनकारीले लुटपाटसमेत मच्चाएका थिए ।

























